डा. केशवराज भुर्तेलले भ्रष्टाचार मुद्दामा सफाइ पाए
काठमाडौं, २४ मंसिर । सर्वोच्च अदालतले चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा.केशवराज भुर्तेललाई गैरकानुनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले भुर्तेललाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसला उल्ट्याएको हो ।
भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट चार पटकसम्म बनेका भुर्तेलमाथि पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप थियो ।
डा.भुर्तेललाई ३ महिना कैद अनि ३२ लाख ५६ हजार रुपैयाँ बिगो र त्यति नै जरिबाना गराउन विशेष अदालतले आदेश दिएको थियो । उनकी पत्नी रुकमिणीले पनि आरोपबाट सफाइ पाएकी छन् ।
डा.भुर्तेलमाथि भवन निर्माणमा ठेकेदारसँग मिलेर अनियमितता गरेको, उपकरण खरिदमा भ्रष्टाचार गरेको केजको जग्गा भाडामा दिँदा व्यक्तिगत लाभ लिएको लगायतको आरोपसहित गैरकानुनी सम्पत्तिआर्जन गरेको अभियोग थियो ।
उनीविरुद्ध २ करोड ६३ लाख भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले ११ फागुन, २०७२ मा मुद्दा दायर गरेको थियो । ३ करोड ७२ लाख आर्जन गरेका उनले चार करोड ५ लाखको सम्पत्ति जोडेको भन्दै विशेष अदालतले ३३ लाख ५६ हजार भ्रष्टाचार गरेको ठहर गरेको थियो ।