सरकारी वकिलको कार्यालय पर्सामा रवि लामिछानेको बयान सुरु
काठमाडौं, २५ मंसिर । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
पर्सास्थित सानोपाइला सहकारीको रकम अनियमितता प्रकरणमा उनीमाथि आज (मंगलबार) बाट बयान सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान गराउन थालिएको छ । लामिछानेको बयान सुरु भएको पर्साका एसपी कुमुध ढुंगेलले बताए ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं हुँदै विमानमार्फत सिमरा, बारा लगिएको थियो । त्यहाँबाट पर्सा प्रहरीले आफ्नो भ्यानमा राखेर लामिछानेलाई पर्सा लगेको थियो ।
सोमबार स्वास्थ्य परीक्षण गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो । त्यतिबेला उनको प्रेसर सामान्य बढी रहेको जनाइएको छ । आज मंगलबार बिहानबाट भने लामिछानेको बयान सुरु गरिएको हो ।
रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको बचत ठगीको आरोपमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत राखेका थिए ।
सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।
यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह भएको छ ।
त्यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तीर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको बताइएको छ ।
यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा लामिछानेको बयान गराइसकिएको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट लामिछाने पक्राउ परेका थिए । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढाएको थियो ।