चितवनमा प्रचण्डको सम्बोधन- चीनसँग मैले गरेकै समझदारीलाई ओलीले फोटोकपी गरेर प्रचार गरे
काठमाडौं, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणका क्रममा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन् ।
चितवनमा आज (मंगलबार) आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको जिकिर गरे ।
‘चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलोपटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो । मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थियो, भारत र चीनसँग सन्तुलित सम्बन्ध दूरगामी थिए । मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ । मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ । ती सबै गतसाल गरिएका सहमति समझदारी हुन् ।’ प्रचण्डले भने ।
साथै, यो पटकको भ्रमणमा ओलीले सिन्को पनि नभाँचेको प्रचण्डको टिप्पणी छ ।
‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन । तैपनि मैले गरेका कामलाई उनले मान्यता दिए, त्यसका लागि उहाँलाई धन्यवाद छ,’ उनले भने ।