बुधबार ०६ चैत, २०८१

बिर्तामोडका पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अनुमति, बालिकामाथि जबरजस्ती करणी गरेको अभियोग

बिर्तामोडका पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अनुमति, बालिकामाथि जबरजस्ती करणी गरेको अभियोग

काठमाडौं, २५ मंसिर । घरेलु कामदारको रुपमा राखिएकी किशोरीमाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न जिल्ला अदालत झापाले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले पुष्टि गरे । यस अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ । त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग गरिनेछ । 

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, यो गम्भीर विषय भएकाले ४ दिनमा अनुसन्धान सकिने विषय नभएकाले फेरि म्याद थपको माग गरिनेछ ।  सोमबार अपराह्न इलाका प्रहरी कार्यालय, अनारमनीको टोलीले शिवाकोटीलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखेका थिए ।

तर, त्यसको बहानामा उनले जबरजस्ती करणी गरेको आरोप लागेको छ । बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टास्थित महिला सेलका अधिकारीहरुलाई घटनाबारे सुनाएकी थिइन् । भारत जान लागेका बेला उद्दार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाएको थियो । 

अनारमनीमा पनि उनले त्यही अनुसारको बयान दिएपछि उनलाई पक्राउ गरिएको हो । नेकपा एमालेबाट शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकाको प्रमुखमा चुनिएका थिए । 
२०७९ सालको निर्वाचनमा पनि शिवाकोटी टिकटका प्रबल दाबेदार थिए ।

यद्यपि, पछि एमालेले तत्कालीन उपमेयर पवित्रा महतरा प्रसाईंलाई टिकट दिएको थियो । अहिले बिर्तामोडमा प्रसाईं मेयर छिन् ।