माओवादी सांसद सापकोटालाई कांग्रेस सांसदको धम्की
काठमाडौं, २७ मंसिर । माओवादी केन्द्रका सांसद माधव सापकोटालाई लक्षित गर्दै कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहन बस्नेतले धम्की दिएका छन् ।
जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित सार्वजनिक कार्यक्रममा २२ मंसिर, शनिबार सम्बोधन गर्दै सिन्धुपाल्चोक–२ का सांसद बस्नेतले क्षेत्र नम्बर १ का सांसद सापकोटालाई चुनौती दिएर ‘अपशब्द र धम्की’ प्रयोग गरेका हुन् ।
सापकोटा निर्वाचित क्षेत्रमा पर्ने त्रिपुरासुन्दरीमा अर्को क्षेत्रका सांसद बस्नेतले बोलेको भाषणको भिडियो यति बेला सामाजिक सन्जालमा व्यापक भइरहेको छ ।
‘केन्द्रमा जसको सरकार होस्, सिन्धुपाल्चोकमा मोहन बस्नेतको सरकार चल्छ, म पन्चायतदेखि सबैसँग लडेर आएको मान्छे हुँ, म विकास रोजगारी दिने मान्छे हुँ,’ ‘आइन्दा कांग्रेससँग विकास चाहिए माग, बच्चाले खान पाएनन् भने माग, म दिन्छु । तर चुरीफुरी गरेर रुख ढाल्ने काम भयो भने सुबोध सापकोटा (माधव), अग्नि सापकोटा लगायत लिखुरेहरूलाई लाई गर्धन मुनि, रुख माथि पारिदिन्छु ।’ उनले कार्यक्रममा भनेका छन् ।
‘करङ चिलाएकाले, डँडेलो सक्सक्याएकाले यस्तो काम (अवरोध) गर्छन् । सुबोध (माधव) ले यहाँबाट जितेको छ, यो बाटो पिच गराइदे भन्नु, नत्र के छ आम्दानीको स्रोत ? यति ठूला कुरा गर्ने ? तीन बिसौलीका (अपशब्द) उफ्रिँदा उफ्रिँदा यी २५ इन्चका तिघ्रा के गरेर बस्छन् ? गफ दिने ?’ उनले अतिरन्जित गर्दै भनेका छन् ।
त्यसपछि पनि उनले पटक पटक अपशब्द बोलेको सुनिन्छ ।
माओवादी सांसद सापकोटाले बस्नेतको अभिव्यक्तिप्रति दुःख प्रकट गरे । आफूलक्षित व्यक्तिगत गाली पहिले पनि हुने गरेको बताउँदै सापकोटाले भने, ‘नयाँ पुस्ता राजनीतिप्रति वितृष्णा जनाइरहेका बेला हामीले आशा जगाउनुपर्ने, तर उहाँ (बस्नेत) ले त निराश पो बनाउनुभयो । यो राम्रो भएन ।’ उनले भने ।
उनले आफ्ना भनाईहरूको प्रतिरक्षा गर्दै फेरि पनि त्यस्ता शब्दहरू भन्ने बताए ।
‘माथिबाट ढुंगा हान्दै कालो झन्डा देखाउने, डाका र चोर भन्ने गर्न थालेपछि हामी चाहिँ रुद्राक्षको माला जपेर बस्ने ? हामीले गरेको विकास निर्माणमा उद्घाटन क्रममा अवरोध गरेपछि मैले बोलेको हुँ, अझै पनि बोल्छु,’ बस्नेतले भने ।
‘मैले सर्वसाधारणलाई भनेको होइन, विद्वानलाई पनि भनेको होइन । जस्तालाई तस्तै गरेको हो । माधव सापकोटाजीको चुरिफुरी अलिक धेरै भयो । हामीमाथि जुन आक्रमणको कोसिस भयो, त्यो उहाँकै निर्देशनमा भएको हो ।’ उनले जिकिर गरे ।
प्रतिस्पर्धात्मक भावना हुनु स्वभाविक भए पनि प्रतिनिधिसभामा चुनिएर आएको जनप्रतिनिधिले बोलेको भाषा र धम्की पाच्य नभएको भन्दै आम प्रतिक्रियाहरू व्याप्त भइरहेका छन् ।