चितवनमा प्रचण्डले भने- 'हामी कुनैबेला चिप्लियौं, त्यतिबेला माओवादी भन्न पनि अप्ठेरो भयो'
काठमाडौं, २७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि केही कमजोरी भएको बताएका छन् ।
आज (बिहीबार) चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभा उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ०६४ पछि नयाँ बाटो हिँड्ने क्रममा चिप्लिएको स्वीकार गरेका हुन् ।
‘पहिला बीचमा हामी चिप्लिँदै गर्दा, जनतासँगको सम्बन्ध बलियो बनाउन नसक्दा माओवादी भनेर छाति खोलेर भन्न पनि अप्ठेरो अप्ठेरो हुने भएको थियो । अहिले विस्तारै आफूलाई माओवादी भन्न गर्व गर्नसक्ने स्थिति आएको छ,’ प्रचण्डले भने ।
‘हामीले बीचमा केही कमजोरी पनि गर्यौं । ठाउँ ठाउँमा चिप्लियौं पनि । नयाँ बाटो हिन्दा अलिअलि चिप्लिने हुँदो रहेछ । हामी उद्देश्यबाट चिप्लिएको त होइन । तर कहिले बाँया चाल्नुपर्नेमा दायाँ र दायाँ चाल्नुपर्नेमा बायाँ चालेको कारणले पनि हामी चिप्लियौं ।’ उनले अगाडि थप्दै भने ।
कतिपयले पार्टीको नाम परिवर्तन गर्दा जनताले भोट दिने तर्क गर्ने गरेको भन्दै उनले त्यस्तो नहुने जिकिर गरे । ‘कतिपय साथीहरूले भन्नुहुन्छ, माओवादी नामले गर्दा बर्बाद पार्यो । यो नाम फेर्यौं भने जनताले भोट गल्र्यामगुर्लुम दिन्छन् जस्तो गर्छन्, यो चाहीँ पार्टीको नाम, चुनाव चिन्ह वा अरु माओवादी भन्न डराएर हल हुने होइन ।’ उनले भने ।
सरकारमा हुँदा गरेका केही राम्रा कामहरूले गरेकाले माओवादीप्रति अहिले विस्तारै जनता सकारात्मक बन्दै गएको प्रचण्डको दाबी छ । ‘हामी ६४ पछि विभिजित भएर पनि अनुभव भयो । कतिपय स्टेप गलत गरेर पनि सिक्यौं । अहिले नयाँ संकल्पसहित सरकारमा हुँदा गरेका कामले विस्तारै जनतामा पोजेटिभ भाइभ्स आएको छ,’ उनले भने ।