प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, २७ मङ्सिर । भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छिन् ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष सुशोभन कार्यक्रममा राष्ट्रपति मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ । 

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने  परम्परा छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर ६ गते भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

प्रधान सेनापति सिग्देलले आजै भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गरेका थिए । त्यसैगरी, उनले स्थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेका निर्देशनालयले जनाएको छ ।