नर्सिङ संघको निर्वाचन आज, देशभर २१ स्थानमा हुँदैछ मतदान
काठमाडौं, २८ मंसिर । नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिको चुनाव सुरु भएको छ । काठमाडौं र भक्तपुर दुई तथा उपत्यकाबाहिरका मतदान केन्द्रमा विहान ७ बजे देखि मतदान प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिका प्रमुख आयुक्त लक्ष्मी राईले जानकारी दिइन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट नर्सहरुले प्रगतिशील प्यानलसहित उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त नर्सिङ पेशागत प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र कांग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गंगाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । एमालेकै बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन् ।
देशभरका विभिन्न जिल्ला र स्थानमा गरी २० मतदान केन्द्र तोकिएको संघको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका अनुसार, मतदान साँझ ५ बजेसम्म गर्न सकिने छ ।