सर्यो माओवादी केन्द्रीय समिति बैठक
काठमाडौं, २८ मंसिर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २१ गते बस्ने भएको छ ।
आज (शुक्रबार) बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यसअघि २६ कात्तिकमा बसेको पदाधिकारी बैठकले पुस २ गतेका लागि केन्द्रीय समिति बैठक डाँकेको थियो ।
उक्त बैठकको तयारीका लागि पुस १८, १९ र २० गते लगातार तीन दिन स्थायी समिति बैठक बस्ने निर्णय भएको पनि सापकोटाले जानकारी दिए ।
खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनिएपनि त्यो हुन नसकेपछि तयारीसहित अब २१ गते बस्न लागेको उनले बताए ।
‘हामीले पहिले खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनेका थियौं । त्यो विविध कारणले हुन सकेको छैन । अब राम्रो तयारीका साथ केन्द्रीय समितिको बैठक बस्दैछ,’ सापकोटाले भने।