बुटवलमा बोलेरो जिप दुर्घटना: दम्पतीसहित ३ जनाको मृत्यु

बुटवल, २९ मंसिर । बुटवलमा बोलेरो जिप दुर्घटनामा परी एक दम्पतीसहित ३ जनाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको निधन भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।
पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।