केयूको उपकुलपति छनोट समिति गठन

केयूको उपकुलपति छनोट समिति गठन

काठमाडौं, २९ मंसिर । सरकारले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति छनोट समिति गठन गरेको छ ।

कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो । समितिमा प्रा.डा.अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।

हालका उपकुलपति प्रा.डा.भोला थापाको चारवर्षे कार्यकाल आगामी माघ ६ गते सकिने भएकाले उपकुलपति छनोट समिति गठन गरिएको हो ।

यसअघि सहकुलपति (शिक्षामन्त्री) को नेतृत्वमा छनोट समिति गठन हुने गरेकोमा यसपटक त्यो परम्परा तोडिएको छ ।

विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुले छनोट समिति राजनीतिक दबाव र प्रभावबाट मुक्त हुनुपर्ने भन्दै छनोट समितिमा आफ्ना प्रतिनिधि पनि हुनुपर्ने माग राख्दै आएका थिए । तर उनीहरुको माग भने यसपटक सम्बोधन भएन ।

काठमाडौं विश्वविद्यालय स्थापनाको ३३ वर्ष पूरा भएको छ । संस्थापक कुलपति सुरेशराज शर्मा लगातार चार कार्यकाल र डा. रामकण्ठ माकाजु लगातार दुई कार्यकाल उपकुलपति भएका थिए ।

केयूले पछिल्लो चार वर्षमा भारतको तिरुपति, हङकङ र अष्ट्रेलिया सम्बन्ध विस्तार गरेर आफ्नो कार्यक्रम लागू गरेको छ ।

पछिल्ला चार वर्षयता केयूमा एक दिन पनि प्राध्यापक र शिक्षकका कारण पठनपाठन समेत अवरुद्ध भएको छैन । तुलनात्मक रुपमा केयूमा विद्यार्थीको आकर्षण पनि देखिएको छ ।