पत्रकार महासंघ निर्वाचन: अध्यक्षमा निर्मला शर्माको अग्रता कायमै

पत्रकार महासंघ निर्वाचन: अध्यक्षमा निर्मला शर्माको अग्रता कायमै

काठमाडौं, २९ मंसिर । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता जारी राखेकी छिन् । ६ प्रदेशको मत गणना सकिँदासम्म शर्माले निरन्तर अग्रता कायम राखेकी हुन् ।

सार्वजनिक परिणाम अनुसार, उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मत गणना सकिएको छ ।

शर्माले ३ हजार ९२ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश बिष्टले २ हजार २७४ मत प्राप्त गरेका छन् । तर, केन्द्रीय निर्वाचन समितिले मत परिणाम एकैपटक दिने बताएको छ । प्रदेशगत रुपमा प्राप्त मत गन्दा शर्माले आठ सय बढी मतले अग्रता कायम राखेकी छन् ।

कर्णाली, सुदूरपश्चिम, मधेश र एशोसिएट प्रदेशको केन्द्रीय पदाधिकारीका लागि खसेको मतगणना जारी निर्वाचन समितिले जानकारी दिएको छ ।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । महासंघको अध्यक्षमा शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि प्रतिस्पर्धामा छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलबाट दीपक आचार्य, विष्ट प्यानलबाट रोशन पुरी र सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं उम्मेदवार छन् ।

उपाध्यक्ष महिलामा शर्मा प्यानलबाट नितु पण्डित र विष्ट प्यानलबाट गंगा पौडेल प्रतिस्पर्धामा छन् । समावेशी उपाध्यक्षमा शर्मा प्यानलबाट उमिदप्रसाद बागचन्द र विष्ट प्यानलबाट सुभाषप्रसाद साहले प्रतिस्पर्धा गरिरहेका छन् ।

महासचिवमा शर्मा प्यानलबाट रामप्रसाद दाहाल, विष्ट प्यानलबाट लेखनाथ न्यौपाने र सापकोटा प्यानलबाट जन्मदेव जैशी चुनावी दौडमा छन् ।

कोषाध्यक्षमा विष्ट प्यानलबाट रामकृष्ण अधिकारी र शर्मा प्यानलबाट रामकृष्ण ज्ञवालीको स्पर्धामा छ ।