त्रिविमा ८ डीन र ३ जना निर्देशक नियुक्त, को-को बने डीन ?

काठमाडौं, ३० मंसिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले आठ डीन नियुक्त गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार केदार प्रसाद रिजालले हिजो (शनिबार) कार्यविधिअनुसार डीन नियुक्त गरिएको जानकारी दिए ।
‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले भने । सर्वसम्मतिले डीन नियुक्त गरिएको र दोस्रो पटक डीन नदोहोर्याउने नीति लिएको बताए ।
छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा लामो समय विवाद चलेको थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।
प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।
परिष्द्को निर्णयअनुसार, शिक्षाशास्त्र संकायमा प्रा.डा.बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल र चिकित्साशास्त्र अध्ययन संस्थान प्रा.डा.मोहोनराज शर्मा डीन नियुक्त भएका छन् ।
यसैगरी, मानविकी तथा सामाजिकशास्त्रमा प्रा.डा. द्विविनन्द ढकाल, व्यवस्थापन संकायमा प्रा.डा.महानन्द चालिसे, र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा.शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल, इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा. सुशीलबहादुर बज्राचार्यलाई त्रिविको कार्यकारी परिषद्ले डीनको जिम्मेवारी दिने निर्णय गरेको छ ।
साथै, त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा.मिनराज भण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा.लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।