काठमाडौँमा योमरी पूर्णिमा र ज्यापु दिवसको अवसरमा झाँकीसहित र्‍याली

काठमाडौँमा योमरी पूर्णिमा र ज्यापु दिवसको अवसरमा झाँकीसहित र्‍याली

काठमाडौं, ३० मंसिर । योमरी पूर्णिमा र ज्यापु दिवसको अवसरमा काठमाडौंमा र्‍याली निकालिएको छ ।

इन्द्रचोकबाट बिहान १० बजेदेखि सुरु भएको र्‍याली वटु, न्यूरोड हुँदै बसन्तपुर सभामा परिणत हुने छ । सो सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

र्‍यालीमा सहभागीहरु परम्परागत नेवारी पोशाकमा सजिएका छन् र धिमे बाजा सहितका झाँकी प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि र्‍यालीमा सहभागी भएकी थिइन् ।

नयाँ धान भित्राएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् । मंसिर शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ । योमरी एक परिकार हो । योमरीलाई नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगले बताए । 

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गरेर माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने प्रचलन पनि नेवार समुदायमा छ ।