एमाले राजनीति गर्न नभइ देश बनाउन बनेको पार्टी होः प्रधानमन्त्री ओली

एमाले राजनीति गर्न नभइ देश बनाउन बनेको पार्टी होः प्रधानमन्त्री ओली

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको दाबी गरेका छन् । 

आज (आइतवार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  ‘यो राजनीति गर्न बनेको पार्टी होइन, देश बनाउन बनेको पार्टी हो ।’ उनले भने ।

उनले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको बताए देशमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको उनले दाबी गरे । त्यसैले जनताले परिवर्तनको अनुभूति पाउने गरी काम गर्न प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । 

‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ, मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने ।

जनताले सजिलोसँग खान, लाउन र बाँच्न पाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।  

‘जनता अधिकार सम्पन्न होउन्, गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्‍यो, खान–लाउन पाउनुपर्‍यो । मुख्य अधिकार त त्यो हो नि,’  ‘बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्‍यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्‍यो ।’ ओलीले भने ।