गृहमन्त्री लेखकको दाबी- रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन

गृहमन्त्री लेखकको दाबी- रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन

काठमाडौं, ३० मंसिर । गृहमन्त्री रमेश लेखकले रास्वपाका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरेका छन् ।

२ कात्तिकमा सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेमाथि सत्ताले राजनीतिक प्रतिशोध साँधेको रास्वपाले आरोप लगाउँदै आइरहेको छ ।

आइतबार चितवनमा सञ्चारकर्मीहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले लामिछानेमाथि अनुसन्धान कानुन बमाजिम भएको र स्वैच्छाचारी ढंगले नभएको  दाबी गरे । ‘अनुसन्धान कानुनभन्दा बाहिर गए भइराखेको छैन । अदालतबाट प्रहरीले म्याद मागेको छ । अदालतले कानुन बमोजिम म्याद दिएको छ,’ गृहमन्त्री लेखकले भने ।

कानुन बमोजिम भएको अनुसन्धान प्रतिशोधपूर्ण नहुने लेखकको जिकिर छ । चितवनबाट २० मंसिरमा पोखरा लामिछानेलाई सार्ने क्रममा राज्यले अमानवीय व्यवहार नगरेको दाबी समेत गरे । 

सरकार प्रत्येक व्यक्तिको मानव अधिकारप्रति प्रतिबद्ध रहेको दाबी उनले गरे ।  ‘प्रत्येक नागरिकको मानवधिकारप्रति सरकार सचेत छ । चाहे थुनवामा रहेको मानिस होस् । चाहे कारागार, हिरासतमा रहेको होस् ।’ लेखकले भने ।