पत्रकार महासंघ दैलेखको अध्यक्षमा समान मत आएपछि आलोपालो नेतृत्व गर्ने सहमति
काठमाडौँ, ३० मंसिर । नेपाल पत्रकार महासंघ दैलेख शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।
आज (शुक्रबार) भएको मतदानमा अध्यक्षका उम्मेदवार अमर बहादुर सुनार र कमल प्रसाद शर्माले सदर मत ६० मध्ये ३०/३० मत प्राप्त गरेका छन् ।
दुई उम्मेदवारले आधा/आधा कार्यकाल जिम्मेवारी लिने सहमति गरेसँगै निर्वाचन समितिले दुवैलाई निर्वाचित भएको घोषणा गरेको छ ।
अध्यक्ष पदका लागि भएको मतदानमा खसेको ६१ मत मध्ये एउटा मतपत्र खाली भेटिएको थियो । अध्यक्ष द्वयले शपथको प्रारम्भ मितिदेखि एक वर्ष छ महिनाको अवधिसम्म सुनार र त्यसपछि शर्माले अध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) र कान्तिपुर दैनिक लगायतका सञ्चार माध्यमका लागि तीस वर्षदेखि दैलेखबाट सक्रिय पत्रकारिता गर्दै आएका सुनार उज्यालो रेडियो नेटवर्क र इन्सेकका जिल्ला सम्वाददाता समेत हुन् ।
उनको महासंघमा दोस्रो कार्यकाल हो । यसअघि २०५८ देखि २०६१ सम्म दैलेख शाखाको अध्यक्ष थिए ।