नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ: प्रधानमन्त्री
_NCgPF776ET_ihx1mpmxank3whfyhvyz0w6vicmrllxgbuegsyjebqozu4h3zjkruvzgpadp_uSjxKHIZvi_mgs8a7nuvrtasxwv1jsvcvfkkyfrhurmps8wqt0btxdfp7re6qpc0pbnyuyb.jpg)
काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको बताएका छन्।
२१औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले ज्यापु संस्कृतिलाई अगाडि बढाउन सफलता मिलोस् भनी कामना गरे। राज्य कोषमा धेरै रकम नभए पनि ज्यापु दिवस मनाउन नेपाल सरकार, मन्त्रिपरिषद्बाट १० लाख रुपैयाँ सहयोगको निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्ने विश्वास दिलाए।
उनले नेवारी संस्कृति र परम्पराले विश्वमा बेग्लै पहिचान दिएर राष्ट्रिय गौरव बढाउन योगदान दिएको चर्चा गरे। आफ्नो मर्यादित संस्कृति र परम्परालाई निरन्तरता दिएकामा धन्यवाद दिँदै धार्मिक र सांस्कृतिक सम्पदालाई प्रोत्साहन गर्न सरकार तत्पर रहेको प्रधानमन्त्रीको भनाइ थियो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न पुरस्कार तथा सम्मान वितरणका साथै वार्षिक जात्रासम्बन्धी डिजिटल सामग्री र पुस्तक विमोचन गरे।