नेपालका सबै वायुसेवामाथि युरोप उडान प्रतिबन्ध अझैं कायमै

नेपालका सबै वायुसेवामाथि युरोप उडान प्रतिबन्ध अझैं कायमै

काठमाडौं, ३० मंसिर । युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीमाथि आफ्नो आकाशमा उडान गर्न फेरि प्रतिबन्ध लगाएको छ ।

ईयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘ईयू सेफ्टी लिस्ट’ मा उल्लेखित विवरणअनुसार, नेपालका हवाई उडान सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको हो ।

ईयूले सेफ्टी लिस्टमा नेपालका सबै वायुसेवालाई राखे पनि हाल कुनै पनि वायुसेवाले त्यहाँ उडान गरेका छैनन् ।

यहाँ दुई अन्तर्राष्ट्रिय वायुसेवा नेपाल वायुसेवा निगम र हिमालय  एयरलाइन्स पनि  युरोपका कुनै  गन्तव्यमा जाँदैनन् ।

यो लिस्टमा पर्नु भनेको युरोपको आकाशमै प्रवेश गर्न नपाउनु हो । यसबाट चार्टर उडानमा जाँदा पनि समस्या पर्न सक्छ । ईयूले करिब ११ वर्षदेखि नेपालका सबै वायुसेवालाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाउँदै आइरहेको छ ।