सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन्- शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ
भजनी (कैलाली), ३० मङ्सिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक रहेको बताएका छन् ।
कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्णस्तम्भ शिलान्यास कार्यक्रममा उनले बदलिँदो समयानुसा शैक्षिक रूपान्तरण जरूरी रहेको बताएका हुन् ।
“समयसँगै हरेक गतिविधि परिमार्जन हुनुपर्छ । शिक्षामा पनि त्यही हो । हिजो टीकापुरलाई शैक्षिक नगरीका रूपमा चिनाउने वीरेन्द्र विद्यामन्दिरलाई पनि त्यसैगरी परिवर्तन गर्न आवश्यक छ”, मुख्यमन्त्री शाहले भने ।
उनले शैक्षिक क्षेत्रको विकासमा भूमिका खेल्नुभएका स्वर्गीय खड्गबहादुर सिंहलाई बिर्सन नमिल्ने भन्दै राम्रा कामहरूबाट आफ्नो क्षेत्रलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय रूपमा चिनाउन प्रयत्न गरिरहनुपर्ने धारणा राखे ।
मुख्यमन्त्री शाहले टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको जानकारीसमेत दिए। “ प्राविधिक विश्वविद्यालय स्थापनाको लागि सबैको सहयोग चाहिएको छ । सबैसँगै अगाडि नबढ्ने हो भने गन्तव्यमा पुग्न सकिदैन”, उनले भने ।
मुख्यमन्त्री शाहले वीरेन्द्र विद्यामन्दिरले उत्पादन गरेको जनशक्तिलाई विद्यालयको विकासका लागि सहयोग गर्नुपर्नेमा जोड दिए।
“विद्यालयको स्वर्णजयन्तीका लागि मेरो एक महिनाको पारिश्रमिक विद्यालयलाई दिने घोषणा गर्दछु । अन्य क्षेत्रमा आबद्धहरूले पनि यसैगरी सकेको सहयोग गरे आर्थिक अभाव हुँदैन”, उनले भने, “हरेक कामका लागि राज्यको मुख ताक्नुपर्ने स्थिति बनाइनु हुँदैन तर पनि सरकार हरेक काममा सहयोग र समन्वय गर्न तयार छ ।”
वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो स्थापनाको ५० औँ वर्षका अवसरमा आगामी फागुन ९ देखि ११ गतेसम्म स्वर्ण महोत्सव आयोजना गर्दैछ ।