लमही-कोहलपुर सडकखण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
लमही, १ पुस । दाङको लमही नगरपालिका वडा नम्बर ९ स्थित मिनी बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
लमही–कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा आज (सोमबार) बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको उनले बताए । कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको सो बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् ।
घाइतेहरुलाई लमही अस्पतालमा उपचारका लागि लगिएको छ । गम्भीर अवस्थाका घाइतेलाई आफन्तको जिम्मा लगाएर रिफर गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।