नाडाको वार्षिक साधारणसभा, यातायातमन्त्रीदेखि निजी क्षेत्रका व्यवसायी कसले के बोले ?
काठमाडौं, १ पुस । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को ४८औं साधारणसभा सम्पन्न भएको छ । द प्लाजा पुल्चोक ललितपुरमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल लगायतले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले अटो मोबाइल्स क्षेत्रको दायरा बृहत् र विद्युतीय सवारी साधनको प्रयोग बढ्दो भएको हुँदा सरकारले अटो क्षेत्रको नीतिगत सुधार गर्नुपर्ने बताए ।
उनले भने, ‘सवारी साधनबाट लिने कर घटाउनुपर्छ । छिमेकी मुलुक भारतको तुलनामा चार गुणा महँगो भएको छ, करभन्दा पनि दायरा बढाउनुपर्छ ।’ मौद्रिक नीतिमार्फत हायर पर्चेज दर घटाउनुपर्ने बताए ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले नितिगत अस्थिरताका कारण अर्थतन्त्र सुधार हुन नसकेको बताए। उच्चस्तरीय आर्थिक सुधार आयोगले कतिपय नीतिहरू सुधार गर्नुपर्ने बताए ।
‘आर्थिक क्रियाकलाप खुम्चिएको अवस्थामा नीति बलियो बनाउनुपर्छ । खनिज निर्यातलाई अघि बढाउनुपर्छ,’ उनले भने, ‘वातावरणीय प्रभावलाई खलल नपुग्ने गरी खनिज निर्यात गर्नुपर्छ । यस्तो कुरामा भावनामा बग्न हुँदैन ।’
बैंकको ब्याजदर एकल अंकमा आएको अवस्थामा पनि लगानी बढन नसकेको भन्दै तत्काल नीतिगत परिवर्तन नगरे अझ आर्थिक मन्दी बढन सक्ने बताए ।
विदेशी मुद्रा सञ्चिति पर्याप्त भए पनि अर्थतन्त्र चलायमान बन्न नसकेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको भनाइ थियो । उनले ब्याजदर एकल अंकमा आए पनि लगानी बढ्न नसक्दा आम रूपमा निराशा रहेको बताए ।
उनले भने, ‘पछिल्लो समय अटो क्षेत्र केही चलायमान भए पनि उल्लेख्य हुन सकेको छैन, सरकारले यसलाई चलायमान बनाउने नीति ल्याउनुपर्छ ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटो क्षेत्रमा ठूलो योगदान रहेको बताए । उनले भने, ‘तपाईंहरूले बिजनेस मात्र गरिराख्नुभएको छैन, अर्थतन्त्रलाई ठूलो योगदान पुर्याउनुभएको छ । यसमा चिन्ता तपाईंहरूको मात्र होइन, हामी नेतृत्वकर्ताको भूमिका हुनुपर्छ ।’
अब आयात मात्र नभई यहीँ उत्पादन गर्ने अवस्थामा पुग्नुपर्ने बताए । उनले भने, ‘अहिले एसेम्बल गर्ने अवस्थामा पुगेका छौं, अब निर्माणमै पुग्नुपर्छ ।’
भौतिक पूर्वाधारलाई व्यवस्थित र दीर्घकालीन बनाउन लागिरहेको बताए । उनले भने, ‘मौद्रिक नीति कस्तो आउनुपर्छ र आउँछ भन्ने कुरा व्यवसायीलाई पहिले थाहा हुनुपर्छ ।’
सरकारले विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने तर यो मात्र विकल्प र समाधान नभएको उनले तर्क गरे ।
उनले भने, ‘सरकारले व्यवसायीलाई मात्र पेल्ने नीति ल्याउनु हुन्न, त्यसलाई अहिलेको सरकारले सहजीकरण गर्छरगरिरहेको छ ।’
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्रलाई अझ मूल्यांकन गर्नुपर्ने बताए । पछिल्लो समय देखिएको आर्थिक अवस्थाले अटो मोबाइल्स संकटतर्फ धकेलिएको हो कि भन्नेमा पुगेको उनले बताए ।
उनले भने, ‘एक लाख बढी जनशक्ति र १० लाख अप्रत्यक्ष रोजगार दिएको, यो पनि संकटमा देखिन्छ । त्यतातिर सोच्ने कि नसोच्ने ?’
देशको राजस्वमा संकलनमा २१ प्रतिशत योगदान यो क्षेत्रको रहेको भन्दै अहिले आर्थिक मन्दीले घट्दो क्रममा छ यसले कति संकट भने देखाएको उनको भनाइ छ।
उनले भने, ‘मौद्रिक नीतिले अटोलाई पूरै बायस गरेको देखियो, यसलाई गम्भीर रूपमा नलिने हो भने अटो क्षेत्र विलीन हुन सक्ने अवस्था आउने छ ।’
सरकारले अटोलाई प्रोत्साहन गर्न पुनः एक पटक दीर्घकालीन रणनीति ल्याउनुपर्नेमा उनले जोड दिए ।
अब विद्युतीय सवारी साधनको विकल्प नरहेकाले यसलाई अझ प्रोत्साहन गर्नुपर्ने बताए ।