प्रहरीले रविलाई ४ दिन अझैं हिरासतमा राख्न माग्यो अनुमति

प्रहरीले रविलाई ४ दिन अझैं हिरासतमा राख्न माग्यो अनुमति

काठमाडौं, २ पुस । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि  लामिछानेलाई थप चार दिन  हिरासतमा  राख्न प्रहरीले अनुमति मागेको छ । 

कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार, आज (मंगलबार )अदालत उपस्थित गराइएका लामिछानेमाथि थप चार दिन हिरासतमा राख्न माग गरिएको  छ ।

प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

अदालतले उनीहरूलाई म्याद दिन भने बाँकी छ ।

सोमबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाइसकेको छ । पोखराको सूर्यदर्शन सहकारी अनियमितता प्रकरणमा अनुसन्धान सुरु गरेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो असुल्नुपर्ने प्रहरीको राय छ ।