अनेरास्ववियुले निःशुल्क लोक सेवा र शिक्षक सेवा आयोगका कक्षा सञ्चालन गर्ने

अनेरास्ववियुले निःशुल्क लोक सेवा र शिक्षक सेवा आयोगका कक्षा सञ्चालन गर्ने

काठमाडौँ, २ पुस । अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले लोक सेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ ।

अनेरास्ववियु केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको उपस्थितिमा काठमाडौँ अध्यक्ष निराजन थापाको अध्यक्षतामा भएको तेस्रो पदाधिकारी बैठक बसेको थियो ।

सो बैठकमा युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले लोक सेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष थापाका अनुसार, विभिन्न पेसा एवम् व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्स्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरूको अभिलाषालाई पूरा गर्न लोक सेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

कक्षामा सहभागी हुन देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूलाई यही पुस १५ गतेभित्र आवेदन दिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

तालिमका लागि आवश्यक स्रोत खोजी तथा व्यवस्थापनको जिम्मा अनेरास्ववियु केन्द्रीय सदस्य तिमिल्सिनाले लिएको अनिरास्वयुले जनाएको छ ।