माओवादीले माग्यो सार्वजनिक लेखा समिति सभापतिको राजीनामा
विराटनगर, ४ पुस । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।
पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको अनुसन्धान प्रक्रिया प्रभावित बनेको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा मागेका हुन्।
उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा हालेका थिए । यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन्।
नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि सहजीकरण गर्न माओवादी दलका नेता आङ्बोले विहीबार पत्रकार सम्मेलनमार्फत अनुरोध गरे । उनले सहकारी ठगीमा दोषी देखिएकालाई कारवाही गर्नुपर्ने माग समेत गरे ।