पर्यटकलाई सहजीकरण गर्न पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं, ८ पुस। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटक सेवामा सहजीकरण गर्न विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
आज (सोमबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरोकारवाला बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन दिएका हुन् ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र हो । राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ । सुरक्षा निकायको भूमिका अझैं प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ, एक पटक आउने विदेशी पर्यटकलाई पटक-पटक आउने खालको वातावरण बनाउनुपर्छ ।’ मन्त्री पाण्डेले भने ।
उनले त्रिभुवन विमानस्थल विदेशीका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीले राष्ट्रिय पहिचान झल्किने खालको पोसाक लगाउन समेत अनुरोध गरे ।
वार्षिक ४६ लाख यात्रु क्षमता भएको त्रिभुवन विमानस्थलले हाल ९० लाखलाई सेवा दिनुपर्ने बाध्यता रहेको मन्त्री पाण्डेले बताए ।
प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पार्न समेत उनले आग्रह गरे । उनले विमानस्थलमा देखिएका समस्या पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न उनले निर्देशन दिए ।
उनले भन्सार, अध्यागमन, एयरलाइन्स, प्राधिकरण कसले के–के काम गर्ने र कति समयभित्र गर्ने भनी प्राथमिकीकरण गर्न समेत निर्देशन मन्त्री पाण्डेले दिए ।