वायुसेवा निगमका जहाज ग्राउण्डेड, आन्तरिक उडान पूर्ण रुपमा बन्द
काठमाडौं, ९ पुस। नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ ।
हाल आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्वीनअटर विमान पनि ग्राउन्डेड गरिएपछि आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो ।
दुईवटा ट्वीनअटर विमानबाट उडान गरिरहेकोमा एउटा विमान गत जेठदेखि नै ग्राउन्डेड थियो ।
आइतबारबाट अर्को विमान पनि ग्राउन्डेड भएपछि आन्तरकि उडान पूर्ण रुपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको उनको भनाइ छ ।
आफूसँग भएको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर प्रयास गरे पनि त्यो सफल हुन नसकेको उनले दाबी गरे ।
दुईवटा ट्वीनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा नेपाल एअरलायन्सले उडान गर्दै आइरहेको थियो । आन्तरिक उठान नै बन्द भएपछि दुर्गम क्षेत्रमा हवाई यात्रा गर्ने यात्रुलाई भने मार्का परेको छ ।