बथनाहा-विराटनगर कार्गो रेल: उद्घाटन भएको डेढ वर्ष बित्यो, सञ्चालनमा आएन

बथनाहा-विराटनगर कार्गो रेल: उद्घाटन भएको डेढ वर्ष बित्यो, सञ्चालनमा आएन

काठमाडौं, १० पुस ।  विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) सम्म कार्गो रेल सेवा उद्घाटन डेढ वर्ष वितिसक्दा समेत कार्गो रेल सञ्चालनमा आउन सकेको छैन  ।

व्यवसायीले कार्गो सञ्चालन भएसँगै महँगो ढुवानी भाडाको लागत घट्न सक्ने अपेक्षा लिएका थिए । यद्यपी, हालसम्म सेवा सुरु हुन नसकेपछि व्यवसायीको अपेक्षा अपेक्षामै सीमित भएको छ । 

कोलकाताबाट विराटनगर आईसीपीसम्म कार्गो रेलबाट औद्योगिक कच्चा पदार्थ ढुवानी प्रतिकिलो भारु झण्डै दुई रुपैयाँ पर्ने अनुमान गरिएको थियो । यो ट्रक र कन्टेनरको ढुवानी लागतको तुलनामा करिब ४० प्रतिशतले कम हो । 

२०६१ सालमा नेपाल र भारतबीच बिहारको बथनाहादेखि मोरङको कटहरीसम्म १८ दशमलव ७ किलोमिटर कार्गो रेल सेवा चलाउने सहमति भएअनुरुप पहिलो चरणमा बथनाहादेखि विराटनगरको आईसीपीस्थित नेपालको भन्सार यार्डसम्म ७ दशमलव ६ किलोमिटर रेलमार्ग बनाइएको छ । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा डेढ वर्ष अघि कार्गो रेलको उद्घाटन गरेका थिए ।

सुनसरी मोरङ औद्योगिक करिडोरका लागि ९० प्रतिशत कच्चा पदार्थ भारतको कोलकाता बन्दरगाहबाट ल्याइँदै आएको छ ।  दैनिकरुपमा विराटनगर नाका हुँदै ३ सयभन्दा बढी ट्रक तथा कन्टेनर नेपाल तर्फ आउने गरेका छन् ।