साइबर कसुरमा शोभा पाठकविरुद्ध मुद्दा, पाँच वर्ष कैद सजाय माग

साइबर कसुरमा शोभा पाठकविरुद्ध मुद्दा, पाँच वर्ष कैद सजाय माग

काठमाडौं, ११ पुस । शोभा पाठक नामले परिचित जानुका पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर गरिएको  छ ।

प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दर्ता गराएका थिए ।

त्यसपछि स्वयम्भूको प्रहरी टोलीले पाठकलाई १ पुसमा गिरफ्तार गरेको थियो । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उनीविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको सजाय हुनेपर्ने माग गरिएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा यस मुद्दामा सुनुवाइ चलिरहेको छ ।