ओली सरकारमाथि बालेनको आरोप- दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन दियो

ओली सरकारमाथि बालेनको आरोप- दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन दियो

काठमाडौं, १२ पुस । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव-२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए । 

उनले भने, ‘५० औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन् । त्यही कारण  मुआब्जा प्राप्त  भएको  छैन् । यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ । त्यही पनि केही गरेको छैन् । कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु  होला । कुनै प्रोसेस भएको छैन्  । केही काम भएको छैन् ।’

उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री,  गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए । 

मेयर बालेनले भने, ‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन् । अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन् ।’