बिहीबार २४ माघ, २०८१

सुदूरपश्चिम र कर्णालीमा बिहानैदेखि वर्षा र हिमपात

सुदूरपश्चिम र कर्णालीमा बिहानैदेखि वर्षा र हिमपात

काठमाडौं, १३ पुस । कर्णालीका हिमाली जिल्ला हुम्लासहित उच्च पहाडी जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ ।

शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको  छ ।

स्थानीय गौगोरा बोहराले हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको  बताए । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।

यस्तै, सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको  बताइएको  छ । 

आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको मौसम विद्ले बताएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको भएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकोले चिसोबाट बच्न सचेत रहन अनुरोध समेत  गरिएको छ ।