सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

काठमाडौं, १३ पुस । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातका कारण निधन भएको छ ।  अस्पताल स्रोतका अनुसार हृदयाघातका कारण  शुक्रबार राति उनको निधन भएको  हो ।

हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो । उनको शव अहिले अस्पतालमै रहेको छ। 

उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौं २०६५ मा नियुक्त भएका उनी पदावधि सकिएपछि २९ चैत, २०७० मा अस्थाथी  न्यायाधीशबाटै  अवकाश  भएका थिए ।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानव अधिकार आयोगको सदस्य बने । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा उनी २ कात्तिक २०७१ देखि १ कात्तिक २०७७ सम्म सदस्यको रुपमा काम गरेका थिए । त्यसपछि अवकाशयुक्त जीवन बिताइरहेका उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखन कार्यमा संलग्न थिए ।  

८ असार, २०१० जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका हुन् । उनले सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कानूनी सल्लाहकारका रूपमा समेत काम गरेका थिए । उनी २०६५ सालमा वरिष्ठ अधिवक्ता भएका थिए ।

भ्रष्टाचार नियन्त्रण, देवानी कानून एवं कानूनी प्रणालीको विकासक्रमका विषयमा रुची राख्ने उनले कैयौ पुस्तक लेखेका छन् ।