कार्यकक्षमै प्रहरी जवानले चलाए आफैंमाथि गोली
काठमाडैं, १३ पुस । कञ्चनपुरमा एक प्रहरी जवान आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफ्नै टाउकोमा गोली चलाएका हुन् ।
टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जनाकारी दिए ।
न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको उनले बताए । ‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।’
उनका अनुसार, घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि कैलालीको धनगढी र त्यसपछि बाँकेको कोहलपुर पुर्याइएको छ ।न्यौपानेले किन आफैंमाथि गोली चलाए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ छ ।