पूर्वमेयर पीएल सिंहको सम्झनामा शालिक बनाउने महानगरको घोषणा
काठमाडौं, १४ पुस । काठमाडौं महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने घोषणा गरेको छ ।
महानगरपालिकाको १६ औं अधिवेशनमा प्रमुख बालेन शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने बताएका हुन् ।
काठमाडौंलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान रहेको बताउँदै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो ।
महानगरले स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको जनाएको छ । वि.सं. १९९६ साल चैत ११ गते जन्मेका सिंह पछिल्लो समय उपचारसँगै चाक्सीबारी निवासमा बसिरहेका थिए ।
गत १ पुसमा उनको निधन भएको थियो । प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय तहको निर्वाचनबाट पहिलो प्रमुखका रुपमा चुनिएका थिए ।
यस्तै, महानगरले अधिवेशनमा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सम्मान समेत गरेको छ ।