नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड घुस खाएको आरोप
काठमाडौं, १४ पुस । स्थानीय जनताहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाएर एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको अभियोग लगाइएको छ । उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत अख्तियारले लगाएको हो ।
४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका अख्तियारको दाबी छ । त्यसबापत राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा भनिएको छ ।
मेयर बस्नेतले हाउजिङ कम्पनीलाई लाभ दिलाए बापत आफ्नो बैंक खातामा २ करोड १५ लाख रुपैयाँ घुस खाएको अख्तियारले आरोप लगाएको छ । अख्तियारले मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी समेत गरेको छ ।
त्यस्तै, अख्तियारको आरोपत्रमा शंकर होटलमा मेयर बस्नेतले गरेको पार्टीको रकम समेत राजु कँडेलले तिरिदिएको उल्लेख गरिएको छ । पार्टी गरेबापत करिब २५ लाख रुपैयाँ भुक्तानी गरिएको थियो ।
अख्तियारले मेयर बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको अभियोगसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण अभियोगमा अर्को मुद्दा समेत हालेको छ ।
पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको छ ।
अख्तियारले मेयर बस्नेत दम्पती र पद्मा कोलोनीका सञ्चालकविरुद्ध समेत १३ करोड १२ लाख बिगो दाबी गरेर सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको छ ।