आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रलाई काम गर्ने वातावरण आवश्यक: अध्यक्ष ढकाल

आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रलाई काम गर्ने वातावरण आवश्यक: अध्यक्ष ढकाल

काठमाडौं, १६ पुस । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैठौं श्रम संसद समारोहलाई सम्बोधन गर्दै उनले नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्नको लागि सबै ठाँउबाट वातावरण मिलाउन सक्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्न सक्यो भने र त्यसको लागि सबै ठाँउबाट वातावरण मिलाउन सकियो भने मात्र सम्भव हुन्छ भन्ने नीजि क्षेत्रको धारणा छ ।’ 

साथै ,अध्यक्ष ढकालले नेपालमा केही सम्भावना छैन् भन्ने नकारात्मक भाष्य चिर्नको लागि नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनी मार्फत व्यवसायीहरुलाई इक्यिूटी दिने काम सुरु गरेको उल्लेख गरे । 

उनले भने, ‘नकारात्मक रुपमा नेपालमा केही सम्भावना छैन्, भन्ने जुन भाष्य तयार गरिएको छ त्यस्तो होइन । नेपालमा साच्चै सम्भावना छ, धेरै कामहरु गर्न सक्ने ठाँउहरु छ भन्ने हिसाबमा महासंघको पहलमा महासंघ अन्तरगतका व्यवसायीलगायत अन्य सबै व्यवसायीहरुलाई इक्यिूटी चाहिएको छ भने त्यो कम्पनीमार्फत इक्यिूटी दिने हिसाबले नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनी भनेर अगाडि बढाएका छौ ।’

देशमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्ने हो भने मात्र राज्यले गरेको अपेक्षा पूरा हुनसक्ने अध्यक्ष ढकालको भनाइ थियो । 

उनले भने, ‘महासंघको तर्फबाट सहकार्य गरेर अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु । देशमा उद्योग व्यवसायहरु भयोभने उद्योग व्यवसायको वातावरण बन्यो भने र आर्थिक गतिविधि बढ्यो भने ट्रेड युनियन, मजदुर साथीहरु, व्यवसायी र राज्यले गरेको अपेक्षा पूरा हुनसक्छ भन्ने हामी सबै बुझाई छ । आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने काम भयो भने देशमा आर्थिक समृद्धि आउनसक्छ ।’

जारी श्रम संसदमा १० वटा महासंघबाट स्ट्रेन्थका आधारमा १ सय ३४ जना प्रतिनिधि सहभागी भएको महासचिव राईले जानकारी दिए । त्यस्तै ७० जना पर्यवेक्षक पनि सहभागी रहेको उनले बताए । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुले उदघाटन सत्रमा धारणा राखेका छन् ।