पश्चिम नेपालमा लगातार भूकम्प, १८ दिनमा ९ वटा भूकम्पको धक्का

पश्चिम नेपालमा लगातार भूकम्प, १८ दिनमा ९ वटा भूकम्पको धक्का

काठमाडौं, १८ पुस । पछिल्ला १८ दिनमा साना–साना ९ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ  ।  पुस २ यता ९ वटा भूकम्प गएका हुन् ।

बझाङ केन्द्रविन्दु भएर  पुस २ मा भूकम्प गएको थियो भने सोही जिल्लालाई केन्द्रविन्दु बनाएर पुस ३ गते अर्को भूकम्प गएको गएको बताइएको छ । त्यसपछि लगातार मनाङ, बाजुरा, दार्चुला जाजरकोट, बैतडी, सिन्धुपाल्चोक र मुगुमा भूकम्पका धक्का महसुस गरिएको छ । 

आज (शुक्रवार) बिहान मात्रै मुगुको लुमा केन्द्रविन्दु भएर ४‍‍.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यस्तै, यसअघि बाजुरामा सबैभन्दा ठूलो भूकम्प गएको छ । पुस ५ मा गएको ५.२ म्याग्निच्युडको भूकम्प सबैभन्दा ठूलो हो ।

गत वर्ष जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण धनजनको ठूलो क्षति व्यहोर्नुपरेको थियो । 

समय सुदूरपश्चिम र कर्णाली प्रदेशमा पछिल्लो समय बढी भूकम्प गएको देखिन्छ । सानातिना भूकम्प आइरहेका ठूला र विनाशकारी आउने सम्भावना न्यून रहेको विज्ञहरू बताउँछन् ।