मुगुमा रैथाने बिउ विजन प्रदर्शनी मेला
मुगु, २१ पुस । मुगुको पश्चिमी भेगमा रहेको खत्याडगाँउपालिकाको रातापानीमा आयोजना गरिएको एक दिने स्थानीय रैथाने अन्नबालीको बिउ प्रदर्शनी मेला तथा ऐचोेपैचो कार्यक्रम सकिएको छ ।
मुगु अन्नको भण्डार मानिएको खत्याड गाँउपालिकामा पूर्खादेखि खेती गर्दै आएका स्थानीय धान, कोदो, मकै, फापर, चिनो, कागुनो, मार्से, भटमासलगायत अन्य तरकारी, लोपन्मुख अन्नबाली वा फलफूल लगायत ९० प्रकारका बस्तुहरुको मेलामा प्रदर्शन गरिएको थियो ।
उक्त पालिकाभित्र उत्पादन हुने अन्नबाली, तरकारी एवम फलफुलको बिउ बिजनलाई बाहिरी जिल्लाबाट आएका विउबिजनले विस्थापित गर्ने भएकाले रैथानी उत्पादनलाई संरक्षण एवम प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको हो ।
सामाजिक सेवा अध्यन केन्द्र खत्याडको आर्थिक सहयोग, खत्याड गाँउपालिकाको समन्वय, खत्याड बहुउद्देश्य सहकारी संस्था लिमिटेड र हेरेन्डेक नेपालको आयोजनामा सन्चालन गरिएको हो ।
प्रदर्शनीमा खत्याड गाँउपालिका वडा नम्बर ८, ९, १०, ११ का कृषक समूहहरुको सहभागिता रहेको मानव अधिकार बिकास केन्द्र हेरेन्डेक मुगुका कार्यक्रम प्रबन्धक नवराज रावलले बताए । रैथाने बालिहरुको बिउ प्रदशनीमा स्थानिय कृषकहरु र अन्यहरुको सहभागी गरी जम्मा ३ सय भन्दा बढिको सहभागीता रहेको आयोजक समितिले जनाएको छ ।