नेपाल मुद्रा विप्रेषक संघको नयाँ कार्य समिति चयन, अध्यक्षमा रितेश मित्तल

नेपाल मुद्रा विप्रेषक संघको नयाँ कार्य समिति चयन, अध्यक्षमा रितेश मित्तल

काठमाडौँ, २२ पुस । नेपाल मुद्रा विप्रेषण संघको अध्यक्षमा रितेश मित्तल चयन भएका छन् । हालै सम्पन्न संघको १९औं वार्षिक साधारणसभाले मित्तलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

मित्तल नेपाल रेमिट इन्टरनेसनलका कार्यकारी अध्यक्ष हुन् । यसैगरी, उपाध्यक्षमा सूर्य रेमिटका सञ्जय सिग्देल, महासचिवमा आईएमईका दीवाकर पौडेल, कोषाध्यक्षमा एटीटी रेमिटका संजीवकुमार पाठक र सचिवमा प्रभु मनि ट्रान्स्फरका रामेश्वर सापकोटा चयन भएका विज्ञप्तिमा उल्लेख छ ।

संघको कार्यसमिति सदस्यमा सिद्धार्थ बैंकका विमल महत, ग्लोबल आईएमई बैंकका श्यामप्रसाद लामिछाने, प्रभु बैंकका मधुसूदन न्यौपाने र युनाइटेड रेमिटका सुदन सिलवाल सर्वसम्मत चयन भएका हुन् ।

संघको विधानत: अध्यक्षबाट मनोनीत हुने सदस्यहरुमध्ये १ जनालाई आगामी कार्यसमिति बैठकमा छलफल गरी मनोनीत गर्ने गरी निर्णय गरिएको जनाइएको छ ।