सेनिटरी प्याडमा लुकाएर सुन तस्करी, ३ जना पक्राउ

सेनिटरी प्याडमा लुकाएर सुन तस्करी, ३ जना पक्राउ

काठमाडौं, २२ पुस । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा सेनिटरी प्याडमा लुकाएर सुन तस्करी भएको पत्ता लागेको छ । महिलाले लगाउने सेनिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको हो ।

प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीया लालबहादुर तामाङलाई सुन तस्करीको अभियोगमा नियन्त्रणमा लिएको छ । 

१४ पुसको आइतबार दिउँसो साढे २ बजे फ्लाई दुबईको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी एक महिलाले दुबईबाट सुन ल्याएको र उक्त सुन लुटिएको  सूचाना प्रहरीले प्राप्त गयो ।

अपराध अनुसन्धान कार्यालयको टोलीले सुन लुटिएको खबर पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीसँग मिलेर अनुसन्धानलाई अगाडि बढाएको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान  गरेको थियो । अनुसन्धानका क्रममा उक्त सुन नाम परिवर्तित ‘भक्तपुर क’ महिलाले आफूले प्याड लगाएर त्यसमा लुकाएर ल्याएको स्वीकारेको अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।  

उनका अनुसार सुनलाई गालेर लिक्विड बनाएर प्याडमा लेपन लगाएर ल्याइएको थियो । अवैध रूपमा सुन ल्याएको सूचना पाएपछि लुटिएको खुलेको छ ।

प्रहरीले लुटिएको करिब आधा किलो ४३६.१० ग्राम सुन समेत बरामद गरेको छ । लुटेराहरूबाट प्रहरीले ३ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।