त्रिभुवन विमानस्थलबाट झापा उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं ‘डाइभर्ट’
काठमाडौं, २२ पुस । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ भएको छ।
विमानस्थल स्रोतका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ गरिएको हो।
बिहान १०:३८ मा काठमाडौंबाट उडेको उक्त विमान आधा समय उडान गरिसकेपछि दायाँ इन्जिनमा समस्या देखिएको थियो। त्यसलगत्तै ११:१५ मा त्रिभुवन विमानस्थलमा ‘डाइभर्ट’ गरिएको हो।
केही समय समस्या भएपनि यात्रुलाई अब अर्को विमानमार्फत् सुरक्षित रुपमा भद्रपुर पठाउने तयारी गरिएको विमानस्थल स्रोतले जनाएको छ।
अकस्मात् विमानमा समस्या आई काठमाडौंमै अवतरण गराउनुपर्दा त्यहाँ अवतरण हुने अन्य विमानलाई केही समय आकाशमै ‘होल्ड’ गराउनुपरेको थियो।