सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कुन रुटको भाडा कति ? (सूचीसहित)
काठमाडौं, २२ पुस । सरकारले सार्वजनिक यातायातको भाडामा वृद्धि गरेको छ । आजै (२२ पुस) बाट लागूहुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाउने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको हो ।
विभागका अनुसार, यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढेको छ ।
विभागको यसपटक दुई वा सोभन्दा बढी प्रदेश भएर चल्ने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको भनाइ छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर निर्धारण गरिएको हो ।
भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा विभागलाई सहमति जनाएका थिए ।
विभागका अनुसार, सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाउने निर्णय लिइएको हो ।
यसैगरी, विभागले श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको समेत गरिएको जनाएको छ ।
विभागले डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्ने जनाएको छ । यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ ।