दूरसञ्चार प्राधिकरणका कर्मचारी २० दिनदेखि आन्दोलनमा, आन्तरिक विवादले मोबाइल व्यवसायी मर्कामा
काठमाडौँ, २३ पुुस । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि मोबाइल फोन आयात कार्य प्रभावित बन्न पुगेको छ । कर्मचारी युनियनका कर्मचारीहरू प्राविधिक कर्मचारीहरूको लागि छुट्टै सेवा विनियमावली हुनुपर्ने, सेवासुविधा थप गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा छन् ।
आयातकर्ताले मोबाइल फोन आयातका लागि दूरसञ्चार प्राधिकरणबाट मोबाइलको स्तर स्वीकृति (टाइप अप्रुभल) लिनुपर्छ । पछिल्लो २० दिनयता प्राधिकरणका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि व्यवसायीले टाइप अप्रुभल प्राप्त गर्न सकेका छैनन् । कर्मचारीको उक्त आन्दोलनका कारण मर्कामा आफूहरू परेको व्यवसायीहरूले भनाइ छ ।
कर्मचारी युनियनकी अध्यक्ष रञ्जिता पौडेलले आफूहरूले लामो समयदेखि राखेका माग पूरा गर्न नयाँ व्यवस्थापनले चासो नदेखाएपछि पेनडाउन गर्न बाध्य भएको बताइन् । ‘हाम्रो माग दूरसञ्चारको हितकै लागि हो । पटक–पटक ताकेता गरे पनि नयाँ व्यवस्थापनले सम्बोधनका लागि चासो नदेखाएपछि पेनडाउन गरेर आन्दोलनमा उत्रिएका हौँ,’ उनले भनिन् ।
युनियन र व्यवस्थापनबीच पटक–पटक सहमतिका लागि वार्ता भएतापनि वार्ता समाधानतर्फ केन्द्रित हुन सकेको छैन । पछिल्लो समय मंगलबार मात्रै व्यवस्थापन र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता भएको थियो । तर सहमति जुट्न सकेन ।
प्राधिकरणका कर्मचारी र व्यवस्थापनबीचको असमझदारीका कारण आफूहरू अप्ठ्यारोमा परेको व्यवसायीहरूले गुनासो गरेका छन् ।
‘प्राधिकरणका कर्मचारीहरूको आन्दोलनका कारण टाइप अप्रुभल लिन नपाउँदा फोन भन्सारबाट पास हुन सकेका छैनन् । बजारमा भएको स्टकमा केही मोडलहरू सकिन थालेका छन्,’ एक मोबाइल व्यवसायीले भने ।