वाइडबडी विमान खरिद प्रक्रियामा ‘अनियमितता’ बारे छानबिन गर्न संसदीय समिति बनाउन रास्वपाको माग
काठमाडौं, २३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वाइडबडी विमानमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।
रास्वपा सांसद शिशिर खनालले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै यस्तो माग गरेका हुन् ।
‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ । नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन्, यता नेपालमा अख्तियारले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ ।’ उनले भने ।
सांसद खनालले उक्त विषय स्मरण गराउँदै संसदीय समितिले छानबिन समिति बनाएर स्वतन्त्र रुपमा हेर्नुपर्ने माग गरे ।
‘जुन निकायले छानबिन गर्नुपर्ने हो त्यसमाथि विशेष अदालतले प्रश्न उठाएकाले स्वतन्त्र छानबिनमा प्रश्न उठ्यो, त्यसैले सभापतिज्यू एउटा छानबिन समिति बनाऔं । पछिल्लो समय उठेका विषय नजिकबाट हेरौं ।’ उनले भने ।
रास्वपाभित्र यस्तो माग गर्ने विषयमा समेत छलफल गरिएको थियो । छलफलपछि सांसद खनालले मांगलबारको बैठकमा यस्तो माग गरेका हुन् ।