तिब्बत भूकम्पले नेपालमा पनि क्षति: १३ जना घाइते, ११ घर भत्किए
काठमाडौं, २३ पुस । चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन्।
बारामा ११ जना घाइते भएका छन् भने काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका हुन्। प्रहरीले घाइते सबैको उद्धार गरिएको जनाएको छ।
प्रहरीका अनुसार, ओखलढुंगामा एक घर पूर्ण रूपमा क्षति हुँदा दुई घरमा सामान्य क्षति पुगेको छ । सोलुखुम्बुमा एक घर पूर्ण, एक आंशिक र तीन सामान्य क्षति भएको छ। ताप्लेजुङमा तीन तथा संखुवासभा, सिन्धुपाल्चोक र रामेछापमा एक–एक घरमा क्षति भएको प्रहरीले जनाएको छ।
आज बिहान ६ः५० मा नेपालको उत्तरपूर्वी सीमानजिकै केन्द्र भएर गएको सात रेक्टर स्केलको भूकम्पमा परी चीनमा कम्तीमा ९५ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। घाइतेको संख्या १३० नाघेको बताइएको छ ।