स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : अदालतको आदेशपछि २ जना धरौटीमा छुटे

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : अदालतको आदेशपछि २ जना धरौटीमा छुटे

काठमाडौं, २४ पुस । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले काठमाडौं जिल्ला अदालतको आदेश अनुसार दुई जना हिजो (मंगलबार) रिहा भएको बताए ।  

सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका उनले जानकारी दिए । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले मंगलबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो ।  यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ अपचलन गरेको अभियोग छ ।