सिद्धबाबा सुरुङ मार्ग: १०८१ मिटर खनियो, ‘ब्रेक थ्रु’ गर्न ८ मिटर मात्रै बाँकी
काठमाडौं, २४ पुस । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ नजिक पुगेको छ । बुधबारसम्म मुख्य सुरुङ १ हजार ८१ मिटर खन्ने काम सम्पन्न भइसकेको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ ।
यो आयोजनाको मुख्य सुरुङको लम्बाई १ हजार ८९ मिटर रहेको छ । मुख्य सुरुङ उत्तरतर्फबाट ४७७.२ मिटर र दक्षिणतर्फबाट ६ सय ४ मिटर खन्ने कार्य जारी छ ।
आयोजनाका बाइपास सुरुङ तीन वटा छन् । यसअघि नै बाइपास सुरुङब्रेक थ्रु भइसकेका छन् । पछिल्लो एक वर्षमा सुरुङमार्ग आयोजनाको कामले गति पाएको छ ।
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आयोजना निर्माणको जिम्मा लिएको छ । यहाँ टनेल सहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण भइरहेका छन् ।
पोखरा र पश्चिम नेपालका विभिन्न गन्तब्यसँग बुटवललाई जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माण भएपछि पहिरोको समस्या हट्ने र आवागमन सहज हुने अपेक्षा लिएको छ । ७ अर्ब ३४ करोडको लगानीमा यो आयोजना निर्माण हुँदैछ ।
हालसम्म आयोजनाको कुल भौतिक प्रगति ३८.८५ प्रतिशत पुगेको छ । आयोजनाका अनुसार, वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेकोछ । स्लोप प्रोटेक्सन र टनेल लाइनिङको काम भने अझै बाँकी रहेको आयोजनाले जनाएको छ ।