सूर्यदर्शन सहकारी ठगी प्रकरण : सरकारी वकिलको बहस सकियो, रविविरुद्धको मुद्दाको आदेश आजै आउन सक्ने
काठमाडौं, २५ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् ।
सरकारी वकिलको बहस सकिएसँगै आजै न्यायाधीश नीतिज राईको इजलासले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।
आदेश आउने मिति नजिकिएसँगै बुधबारबाटै पोखराका विभिन्न स्थानमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । पोखराको शहीदचोक र जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पार्दै बाक्लो संख्यामा प्रहरी खटाइएको छ । आज पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ र सरकारी कामका लागि हो भने कागजात देखाएरमात्रै प्रवेश दिइएको स्थानीय प्रशासनले जनाएको छ ।
राष्ट्रबैंक चोकदेखि, रत्नचोक, मालपोत कार्यालयसम्म र मासबार हुँदै मुख्यमन्त्री कार्यालय छिर्ने चोकसम्म प्रशासनले निषेधित क्षेत्र तोकेर सवारीमाथि रोक लगाएको छ भने कामको प्रमाण नदेखाइ नागरिकलाई छिर्न नदिने जनाएको छ ।
२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको हो । यही पुस १६ गतेदेखि न्यायाधीश नीतिज राईको इजलासमा उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस भइरहेको छ ।
प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको हो ।
थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । रविमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको कसुरमा मुद्दा चलाइएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी ठगी प्रकरण हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार, लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता गरिएको छ ।