निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाउन संसदीय समितिको निर्देशन
काठमाडौं, २५ पुस । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तत्काल अगाडि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । आज (बिहीबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले उक्त निर्देशन दिएको हो ।
समितिले नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ ।
‘राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने ।’ समितिको निर्णयमा भनिएको छ ।
समितिले वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनका साथै योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याएको सोको प्रगति समितिमा पेस गर्न समेत निर्देशन दिएको छ ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन पनि निर्देशन समितिबाट भएको छ ।
पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी समितिलाई जानकारी गराउन पनि निर्देशन गरिएको छ ।