गुल्मीमा २ करोड लगानीमा खुल्यो रेसुङ्गा खानेपानी उद्योग
काठमाडौं, २५ पुस । ३ जना युवा मिलेर गुल्मीमा खानेपानी उद्योग सञ्चालनमा ल्याएका छन् । करिब २ करोड रुपैयाँको लागतमा उनीलाई उद्योग खोलेका हुन् ।
उनीहरूले जिल्लाको रेसुङ्गा नगरपालिका–३ बेहोरेस्थित छल्दी खोला किनारमा रेसुङ्गा जल उद्योग प्रालि सञ्चालनमा ल्याएका हुन् ।
रेसुङ्गा–२ का विश्वास पुन, ३ का सन्तोष कुँवर र ६ का राम पन्थी मिलेर पानी उद्योग सञ्चालन गरेका हुन् । रेसुङ्गा काखमा रहेको मूलबाट प्रशोधन गरी खानेपानी बिक्री वितरण थालिएको अध्यक्ष कुँवरले बताए । प्रतिघण्टा २ हजार लिटर पानी उत्पादन क्षमताको उद्योगबाट हाल १ हजार ४ सय लिटर उत्पादन भइरहेको छ ।
सञ्चालक पन्थीका अनुसार, उद्योगबाट १ लिटर, आधा लिटर र २० लिटर जारमा पानी गुल्मी बजार पठाउन थालिएको छ ।
जिल्लाको माग पूरा भएपछि अन्य जिल्ला पठाइने उद्योगले जनाएको छ । प्रतिबोतल २० रुपैयाँ खुद्रा मूल्य निर्धारण गरिएको छ । चिनियाँ प्रविधियुक्त स्वचालित उद्योगमा स्थानीय १५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
पछिल्लो समय जिल्लामा साना–ठूला उद्योग बन्द हुने अवस्थामा पुगेका बेला तीन युवाले संयुक्त रुपमा पानी उद्योग सञ्चालनमा ल्याएपछि जिल्लामा उद्योग–व्यवसायमा सम्भावना देखिएको गुल्मी उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वरीप्रसाद पौडेलको भनाई छ ।